मुद्रा आपूर्ति बढ्ने, ब्याजदर घट्ने र पुँजी पलायनको डर ।

काठमाडौँ ।
श्रावण १, २०८२
मौद्रिक नीति भनेको कुनै पनि देशको केन्द्रीय बैंकले देशको समग्र आर्थिक स्थिरता कायम गर्न, मुद्रास्फीति नियन्त्रण गर्न, आर्थिक वृद्धि प्रोत्साहन गर्न र वित्तीय प्रणाली सुदृढ तथा व्यवस्थित बनाउन तयार पार्ने नीतिगत खाका हो । यो नीतिको प्राथमिक उद्देश्य मूल्य स्थिरता कायम गर्नु र उत्पादनशील क्षेत्रमा पर्याप्त वित्तीय स्रोतको उपलब्धता सुनिश्चित गरी दिगो आर्थिक विकासका लागि अनुकूल वातावरण सिर्जना गर्नु हो । यसले बजारमा मुद्रा आपूर्ति, ब्याजदर स्तर र कर्जाको उपलब्धतालाई प्रत्यक्ष वा अप्रत्यक्ष नियमन गर्छ । वित्तीय बजारमा तरलता व्यवस्थापन, विदेशी विनिमय दरको स्थिरता र शोधनान्तर स्थितिको सन्तुलनमा पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ, जसले गर्दा समग्र अर्थतन्त्र स्वस्थ र बलियो बन्न सक्छ ।
यस पटकको मौद्रिक निति मार्फत ‘नेपाल भुक्तानी प्रणाली रणनीति २०८२–२०८७ को घोषणा गरेको छ, जसले भुक्तानी प्रणालीलाई अझ सुरक्षित, कुशल र व्यापक बनाउने लक्ष्य राखेको छ। अर्थतन्त्रमा वित्तीय पारदर्शिता, उत्पादनमूलक क्षेत्रमा लगानी र बजार माग बढाउने रणनीति अपनाईने छ ।
गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको छ । पौडेलले आगामी वर्ष २०८२-८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण गरिएको छ । ब्याजदर करिडोर केन्द्रीय बैंकले बजारमा अल्पकालीन ब्याजदरको अत्यधिक उतारचढाव नियन्त्रण गर्न प्रयोग गर्ने एक महत्त्वपूर्ण उपकरण हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ जेठसम्ममा कर्जाको औसत ब्याजदर ७ दशमलव ९९ प्रतिशत मात्रै छ । पहिले यस्तो औसत ब्याजदर १३ प्रतिशत माथि पुगेको थियो । कर्जाको ब्याजदर न्यून तहमा आउँदा पनि कर्जा लगानी बढ्न सकिरहेको छैन । यसैले कर्जाको लागत घटाएर मात्रै कर्जा लगानी बढ्ने देखिँदैन । यसले निक्षेपकर्तालाई वचत गर्न प्रेरित नगर्न सक्छ ।
मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रर्वाह हुने कर्जा वृद्धि १२ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्र तर्फको कर्जा प्रवाह ८ दशमलव ७ प्रतिशतले बढेको छ । बैंकहरूमा निक्षेप थुप्रिएको थुप्रियै छ, तर बजारमा माग छैन । यसले के देखाउँछ भने बैंकहरूसँग प्रशस्त पैसा भए पनि उत्पादनमूलक क्षेत्रमा लगानी हुन सकिरहेको छैन ।
नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको थियो । बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिलाई टेवा पुग्ने गरी बैंकहरुले ब्याजदर घटाएका हुन् । सबैजसो बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर साउनका लागि तोक्दै असारको तुलनामा घटाएका छन । केही ‘ क ’ वर्गका बैंकहरुको ब्याजदर हेर्ने हो भने यसप्रकार देख्न सकिन्छ ।
| सि.न. | वैङ्कको नाम | पुरानो व्याजदर | परिवर्तित व्याजदर | कैफियत |
| १ | कृषि विकास बैंक | ५.४५ | ५.४० | मुद्दती निक्षेप |
| २ | नेपाल बैंक | ५.४५ | ५.४० | मुद्दती निक्षेप |
| ३ | राष्ट्रिय वाणिज्य बैंक | ६ | ५.५० | मुद्दती निक्षेप |
| ४ | एभरेष्ट बैंक | ६.५५ | ६.२५ | मुद्दती निक्षेप |
| ५ | लक्ष्मी सनराइज बैंक | ५.७५ | ५.५० | मुद्दती निक्षेप |
| ६ | माछापुच्छ्रे बैंक | ६ | ६ | मुद्दती निक्षेप |
| ७ | एनआईसी एसिया | ६.५५ | ६.२५ | मुद्दती निक्षेप |
| ८ | प्रभु बैंक | ६.१० | ४.२५ | मुद्दती निक्षेप |
| ९ | नबिल बैंक | ५.७५ | ५.५० | मुद्दती निक्षेप |
| १० | ग्लोवल आइएमी बैंक | ६ | ६ | मुद्दती निक्षेप |
| ११ | सिद्धार्थ वैंक | ५.७५ | ५.७५ | मुद्दती निक्षेप |
| १२ | प्राइम कमर्सियल बैंक | ६.२५ | ६ | मुद्दती निक्षेप |
| १३ | कुमारी वैंक | ५.७१ | ५.४१ | मुद्दती निक्षेप |
| १४ | सानीमा वैंक | ६.३३ | ६.१८ | मुद्दती निक्षेप |
| १५ | हिमालयन वैंक | ५.५० | ६.१८ | मुद्दती निक्षेप |
| १६ | नेपाल एसबीआई बैंक | ५.५० | ५.३५ | मुद्दती निक्षेप |
| १७ | इन्भेस्टमेन्ट मेगा | ५.५० | ५.२५ | मुद्दती निक्षेप |
| १८ | एनएमबी बैंक | ६ | ५.५० | मुद्दती निक्षेप |
मौद्रिक नीतिमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउसलगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा आवश्यकताअनुसार परिमार्जन गरिने भनिएको छ । यसले उल्लेखित क्षेत्रलाई केही सहज वनाएतापनि अर्थतन्त्रमा यसको उल्लेखनिय प्रभाव देखिदैन ।
मौद्रिक नीतिले निजी घर निर्माण/ खरिदका लागि कर्जाको सीमा २ करोडबाट ३ करोड, निजी आवासीय कर्जा लिँदा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा, सेयर कर्जाको सीमा १५ करोडबाट २५ करोड,१० लाखसम्म कृषि वा व्यावसायिक कर्जा, साना तथा मझौला उद्यमीलाई ३ करोडसम्म सस्तो कर्जा, ऊर्जा क्षेत्रमा प्रवाह भएको कर्जाको ब्याज पुँजीकरणमा पुनरावलोकन, विदेश भ्रमणमा जाँदा ३ हजार अमेरिकी डलर बराबर सटही सुविधा जस्ता व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले नै ब्याजदर घटाउने नीति ल्याएका कारण आगामी दिनमा अझै ब्याजदर घट्ने देखिन्छ ।यसरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर धमाधम घटाउन थालेपछि सर्वसाधारण निक्षेपकर्ताले तनाव महशुस गरेको देखिन्छ । ब्याजदर घटेसँगै आम सर्वसाधारण बैंकमा पैसा नराखेर कतिपयले पुँजीलाई पलायन गराउन सक्ने जोखिम बढेको छ ।
बैंकहरुले यसरी भारी रूपमा ब्याजदर कटौती गरेको यो पहिलो पटक हो । ब्याजदर न्यून तहमा आउँदा पनि कर्जा लगानी बढ्न सकिरहेको छैन । यसैले कर्जाको लागत घटाएर मात्रै कर्जा लगानी बढ्दैन भन्ने स्पष्ट हुन्छ । यस प्रकारको नितिले निक्षेपकर्तालाई वचत गर्न प्रेरित गर्दैन । वचत गर्न निरुत्साहित गर्दा खुला सीमा क्षेत्र भएका कारण पुँजी पलायनको जोखिम बढ्नसक्ने खतरा छ ।
-आर.सी.कोइराला





