काठमाडौं, साउन १६

आज मिति २०८२ साल साउन १६ गते शुक्रवारका दिन ईम्पेरियल बिजनेस कलेज, नयाँबानेश्वरमा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग तथा काठमाण्डौ महानरपालिका वडा न.१० को सहयोगमा एकदिने वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ।

स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त शिविरमा स्थानीय समुदाय, विद्यार्थी, अभिभावक र कर्मचारीसहित सयौंले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्। शिविरमा विशेषगरी महिला सँग सम्वन्धित रोगहरु, वच्चा सँग सम्वन्धित रोगहरु,मुटु, उच्च रक्तचाप, मधुमेह, हाड जोर्नि सँग सम्वन्धित रोगहरु,छाला, नेत्र, ENT, दाँत जाँच, सामान्य स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिएको थियो।
कलेज प्रशासनका अनुसार शिविरमा अनुभवि चिकित्सकहरुको टोली, नर्सिङ स्टाफ र स्वयम् सेवकहरूको सक्रिय सहभागिता रहेको थियो। काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुले विभिन्न रोगसम्बन्धी स्वास्थ्य परीक्षण तथा औषधि परामर्श प्रदान गरेका थिए।

कार्यक्रमको उद्घाटन काठमाण्डौ महानरपालिका वडा न.१० का वडा अध्यक्ष राम कुमार के.सी, ईम्पेरियल बिजनेस कलेजका प्राचार्य श्री प्रताप शाक्य तथा काठमाडौं मेडिकल कलेजका प्रतिनिधि श्री मदन लाल श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको थियो। कलेजका प्रमुख कार्यकारी अधिकृत श्री जिवन लामा गोलेले शिक्षासँगै स्वास्थ्य चेतना फैलाउनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका थिए।
स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी सबै पक्षलाई धन्यवाद दिँदै कलेजका शैक्षिक मामिला प्रमुख आर.सी.कोइरालाले आगामी दिनमा पनि यस्ता समाजसेवी कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । हाल कलेजमा पोखरा विश्वविद्यालय द्वारा सम्वन्धन प्राप्त स्नातक तहमा वि.वि.ए. र वि.एच.सि.एम. तथा स्नातकोत्तर तहमा एम.एच.सि.एम कार्यक्रम सञ्चालनमा रहेको छ ।


शिविरमा सहभागिहरुले यस प्रकारको शिविरले विद्यार्थी र समुदायमा स्वास्थ्यप्रति जागरुकता बढाएको बताए। साथै, काठमाण्डौ मेडिकल कलेजका स्वास्थ्यकर्मी तथा चिकित्सक टोलिलाई उच्च स्तरीय सेवा प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरिएको थियो।
स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रकारको शिविरले समुदायमै सेवा पुर्याउने अभ्यासलाई संस्थागत रूपमा अघि बढाएको आयोजकले जनाएका छन्।





