१५ असोज, काठमाडौं ।

सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट २२४ जनाको मृत्यु भएको भने २४ जना बेपत्ता १५८ जना घाइते भएका र १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् ।
बाढी, पहिरो र डुवानबाट काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर लगायत २१ जिल्ला प्रभावित भएका छन् ।
क्षतिको प्रारम्भिक तथ्याङ्क अनुसार खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।
कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले बताए ।

घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए । खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । यसैगरी ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा राजमार्गमा अवरोध हटाइ सञ्चालनमा ल्याइएको जनाइएको छ भने अन्य राजमार्गहरु यथासक्य चाडो सुचारु गरिने वताए ।





