सुरक्षण मुद्रण केन्द्रका तत्कालीन निर्देशक विकल पौडेलविरुद्ध ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ ।
पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
विशेष अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीका अनुसार उनीविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ स्रोत नखुलेको पाइएको छ ।
उनको वैध आय भने २ करोड १ लाख ४३ हजार ४८८ रुपैयाँ मात्र रहेको अभियोगपत्रमा उल्लेख छ ।
००००
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा संलग्न रहेको भन्दै छानबिन समिति गठनको लागि आगामी आइतबार विरोध प्रदर्शन गर्ने भएको छ ।
बुधबार पार्टी मुख्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति तथा संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
००००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन् ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाको प्रस्तावमा उनलाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय भएको हो ।
००००
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई क्लीन चिट दिनेगरी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।





